भीमफेदीमा अनौपचारिक क्षेत्रमा काम गर्ने ९८ जना श्रमिक सामाजिक सुरक्षा कोषमा

जनपत्र
२६ फाल्गुन २०८१, सोमबार १८:५३

हेटौंडा । भीमफेदी गाउँपालिकाले यस वर्ष अनौपचारिक क्षेत्रमा कार्यरत ९९ श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ । सिकर्मी, डकर्मी, कृषि मजदुर र सवारीसाधनमा काम गर्ने श्रमिकलाई पालिकाले कोषमा आबद्ध गराएको हो । पालिकाले गत वर्ष अनौपचारिक क्षेत्रका ९८ श्रमिकलाई कोषमा आबद्ध गराएको थियो ।

चालु आवमा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कार्यक्रमको शुभारम्भ गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले यो उदाहरणीय कार्य गरेको बताए । यसले उनीहरुको जीवन र परिवारमा सहजता आउने उनको भनाइ थियो । यो कार्य भीमफेदी गाउँपालिकाले मात्र होइन प्रदेशका १ सय १९ वटै पालिकाले अनुसरण गर्नुपर्ने मुख्यमन्त्री लामाले बताए ।

प्रतिनिधिसभाका सांसद महेश बर्तौलाले सरकारले संगठित वा असंगठित क्षेत्रका श्रमिकको जीवन र उनीहरुको परिवारलाई सबल बनाउन विभिन्न योजना ल्याएको दाबी गरे । प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले आफ्ना पालिकाका बासिन्दालाई सक्षम बनाउन चालिएका यस्ता कार्यले सबै क्षेत्रमा सकारात्मक सन्देश पुग्ने बताइन् ।

भीमफेदी गाउँपालिकाले गत आवदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई समावेश गर्दै आइरहेको छ । चालु आर्थिक वर्षका लागि योगदानमा आधारित श्रमिक कोष शीर्षकमा २५ लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिए ।

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन नेपाल सरकारले औद्योगिक क्षेत्रका लागि तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ११ प्रतिशत अर्थात ११९० रुपैयाँ र गाउँपालिकाको तर्फबाट ९ दशमलव ३७ प्रतिशत अर्थात् १०१४ रुपैयाँ थप गरी जम्मा २० दशमलब ३७ प्रतिशत अर्थात् २२०४ रुपैयाँ मासिक गाउँपालिकाको कोषमा जम्मा गरिने व्यवस्था मिलाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*