मकवानपुरका नागरिकले महशुस गर्नेगरि सेवा दिन पहल गर्नेछु– प्रजिअ श्रेष्ठ

हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठ मकवानपुरका नागरिकले महसुस गर्नेगरी आफुले सेवा दिने बताएकी छिन् । जिल्ला प्रशासन मकवानपुरले दिने सेवामा नागरिकको गुनासो कम आउनेगरी सेवा दिने बताइन् ।
फाल्गुन १५ देखि यस जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा आएपछी आज जिल्लाका सञ्चारकर्मीहरुसँग परिचयात्मक कार्यक्रमको आयोजना गर्दै सञ्चारकर्मीहरुलाई सहि सुचना सम्प्रेषण गरी जिल्ला प्रशासनको काम कारबाहिमा सघाउनसमेत अनुरोध गरेकी हुन् । ‘हाम्रो ध्यान पुर्याउन र हामीलाई जिम्मेवार बनाउन यहाँहरुको कलम चल्नेछ भन्ने हाम्रो अपेक्षा हो । सत प्रतिशत सहि सुचनामात्रै सम्प्रेषण गर्नुहोस्।’ उनले भनिन् ।
प्रशासनका गतिविधिलाई खबरदारी गर्न र भएका उपलब्धिलाई सहि सुचनाका माध्यमबाट जनतासमक्ष पुर्याउन श्रेष्ठले आग्रह गरेकी छन् ।
संचारकर्मीहरुसँगको भेटघाट कार्यक्रममा प्रजिअ श्रेष्ठले एनजीओद्वारा संचालित क्रियाकलापमा सहभागी हुँदा जनताको सेवा प्रवाहमा समस्या उत्पन्न हुने गुनासो आएकोले एनजीद्वारा संचालित क्रियाकलापमा सहभागी नहुने बताएकी हुन्। तर उनले एनजीओले जनताको सेवासंग जोडिएको कार्यक्रममा संचालन गरे भने सहभागी हुने बताएकी छिन्।
कार्यक्रममा सञ्चारकर्मीहरुले लागुऔषध र्दुव्यसनी न्युनिकरण, अवैध क्रसर उद्योग सञ्चालन, ट्राफिक नियमको उलङ्घन, खानी दोहन, यौनजन्य धन्दाको विकृति लगायतका विषयमा प्रजिअ श्रेष्ठको ध्यानाकर्षण गराएका थिए ।
यस्तै यस अघिका सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल सहसचिवमा बढुवा भएर मन्त्रालय पदस्थापित भएपछि राजेन्द्र प्रसाद कँडेलले सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका छन् ।