हेटौँडा भेट्रान्स कपः बानेस्वर,फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनल प्रवेश

हेटौडामा जारी दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शनिवार चार क्वाटर फाइनल खेल सम्पन्न भकाएछन् । हेटौँडा भेट्रान्स क्लबको आयोजनामा आगामी २६ गते सम्म चल्ने प्रतियोगितामा ४५ वर्ष माथि उमेर समूह बिच खेल भइरहेको छ ।
हेटौडा ४ मा रहेको हुप्राचौर खेलमैदानमा जारी प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेलमा बानेस्वर भेट्रान्सले एबिसि भेट्रान्स पोखरालाई ट्राईब्रेकरमा पराजित गर्न सफल हुँदै सेमिफाइनल प्रवेश गरेको छ । निर्धारित समयमा दुवै समूहबाट गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । ट्राईब्रकरमा तिन दुई गोल अन्तरमा बानेस्वर भेट्रान्स विजयी भएको हो ।
खेलको म्यान अफ द म्याच बानेस्वर भेट्रान्सका खेलाडी राजनलाल नेपाली घोषित भएका थिए । यस्तै आजै भएको दोस्रो क्वाटरफाईलन खेलमा किङकम भेट्रान्स विजयी भएको छ । किङकम भेट्रान्सले बगर भाईखलक भेट्रान्सलाई तिन शून्य गोल अन्तरमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । खेलमा किङकम भेट्रान्सको तर्फबाट खेलको २० औ मिनेटमा सञ्जय रानाले एक गोल गरेका थिए भने खेलको ४१ र ४८ औ मिनेटमा सरोज थापाले दुई गोल गर्दै समूहलाई विजयी बनाएका थिए । खेलमा म्यान अफ द म्याच थापा घोषित भएका थिए ।
यस्तै आजै भएको तेस्रो क्वाटर फाइनल खेलमा नागस्वती भेट्रान्सलाई दुई शून्य गोल अन्तरमा पराजित गर्दै फ्रिडम फाइटर भेट्रान्स विजयी भएको छ । फ्रिडमको तर्फबाट खेलको १३ औ मिनेटमा कृष्ण मालाकारले एक गोल गरेका थिए भने ४१ औ मिनेटमा तेज बहादुर गलामीले एक गोल गर्दै समूहलाई सेमिफाइनल प्रवेश गराउन सफल भएका थिए । खेलको म्यान अफ द म्याच फ्रिडम भेट्रान्सका तेज बहादुर गलामी घोषित भएका थिए ।
यस्तै आजको चौथो क्वाटर फाइनल खेलमा बौद्ध भेट्रान्स र हेटौडा भेट्रान्स बराबरीमा टुङ्गिएको छ । निर्धारित समयमा दुवै समूहबाट एक एक गोल भएपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । समय अभावका कारण यी दुई समूहबिचको ट्राई ब्रेकर आइतबार बिहान साढे आठ बजे हुने प्रतियोगिता संयोजक मणिराज गौतमले बताउनु भयो । आइतबार दिउसो २ बजे बानेस्वर भेट्रान्स र फ्रिडम फाइटर बिच पहिलो सेमिफाइनल खेल हुनेछ भने दोस्रो सेमिफाइनल खेल किङकम भेट्रान्स काठमाण्डौले हेटौडा र बौद्ध भेट्रान्स बिचको विजयी समूहसँग खेल्ने छ ।
मुख्य प्रायोजकका रूपमा हेटौँडा उपमहानगरपालिका रहेको यस प्रतियोगितामा सह प्रायोजकका रूपमा हेटौडा स्कुल अफ म्यानेजमेन्ट रहेको छ । प्रतियोगितामा पहिलो हुने समूहले एक लाख ५० हजार ५ सय ५५ र दोस्रो हुने समूहले ७५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । यस्तै विधागत खेलाडीहरू सर्वश्रेष्ठ कोच,उत्कृष्ट फरवार्ड,उत्कृष्ट गोलकिपर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट मिडफिल्डरलाई जनही ५ हजार र म्यान अफ द सिरिज हुने खेलाडीलाई १० हजार पुरस्कार रहेको छ ।