हेटौँडामा रहेको मदन भण्डारी प्रतिष्ठानलाई स्नातकोत्तर तहका लागि ८ सिट

जनपत्र
७ फाल्गुन २०८१, बुधबार ०७:२६

हेटौँडा । चिकित्सा शिक्षा आयोगले हेटौँडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्नातकोत्तर तह (पिजी) अध्यापनका लागि ८ सिट दिएको छ । आयोगले यसअघि उक्त कोर्सका लागि दिएको एक सिटलाई पुनः विचार गर्दै ७ सिट थपेर ८ सिट दिएको हो ।

आयोगले गत माघ १६ बिहीबार सार्वजनिक गरेको पिजी सिटको विवरणअनुसार प्रतिष्ठानले जनरल प्राक्टिस एन्ड इमरजेन्सी मेडिसिन (एमडिजिपी)मा एक सिट मात्र पाएको थियो । प्रतिष्ठानले आयोगले तोकेको मापदण्ड भित्र रहेर विभिन्न ९ वटा विषयमा १८ वटा सिट माग गरेको थियो । आयोगबाट गएको विज्ञ टोलीले पनि प्रतिष्ठानको निरीक्षणपछि प्रतिष्ठानले माग गरेअनुसार सिट उपलब्ध गराउँदा एक सिट मात्र दिएको थियो ।

प्रतिष्ठानले अब्सटेट्रिक्स एन्ड गाइनो, इन्टर्नल मेडिसिन, जेनेरल सर्जरी, एमडिजीपी, पेडियाट्रिक्स, एनेस्थेसियोलोजी, फार्माकोलोजी/क्लिनिकल फार्माकोलोजी, अर्थोपेडिक्स/अर्थोपेडिक्स एन्ड ट्रमा सर्जरी र पेरिडोन्टोलोजी एन्ड ओरल इम्प्लान्टोलीजीका लागि सिट माग गरेको थियो ।

आयोगले भने ९ वटा विषयमध्ये जम्मा एउटा विषयमा एक जना मात्र पढ्न मिल्ने गरी प्रतिष्ठानलाई सिट सङ्ख्या तोकेपछि प्रतिष्ठानका प्रमुखसहित चिकित्सक सङ्घले समेत विरोध गरेको थियो । चौतर्फी आलोचना पछि आयोगले पुनः विचार गर्दै ८ सिट दिएको हो ।
आयोगले पीजीमा विभिन्न विषयमा १ हजार २६ सिटमा अध्यापन गराउने तयारी गरेहको छ । आयोगले गत वर्ष विभिन्न प्रतिष्ठान र अस्पतालहरूमा गरी ७९५ सिटमा पीजी कोर्स अध्यापन गराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*