मकवानपुर र काठमाडौँ जोड्ने छोटो दुरीको महालक्ष्मी–चखेल–मातातीर्थ मार्ग डेढ महिना बन्द

हेटौँडा । मकवानपुर र काठमाडौँ जोड्ने छोटो दुरीको महालक्ष्मी–चखेल–मातातीर्थ मार्ग स्तरोन्नतिका क्रममा बन्द गरिएको छ । महालक्ष्मी–चखेल–मातातीर्थ मार्ग स्तरोन्नतिका क्रममा आइतबारबाट डेढ महिनाका लागि बन्द गरिएको हो ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-५ को कार्यालयले आइतबारदेखि आगामी चैतको २१ गतेसम्म उक्त सडक हुँदै आउने जाने सवारीसाधनको आवागमन बन्द रहने जनाएको छ ।
इन्द्रसरोवर गाउँपालिका-५ को महालक्ष्मी दोभान–घट्टेखोला–चखेल हुँदै मातातीर्थ जोड्ने सडक अन्तर्गतको देउराली मातातीर्थ खण्डको सडकको मोडहरूमा सडक ढलानको काम गर्नुपर्ने भएकोले उक्त सडक बन्द गरिएको इन्द्रसरोवर गाउँपालिका-५ का वडाध्यक्ष दुतराज तितुङले जानकारी दिनुभयो । उहाँले उक्त सडक भएर चल्ने सवारीका साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्दै महालक्ष्मी दोभान–घट्टेखोला–चखेल हुँदै मातातीर्थ जोड्ने सडकको मकवानपुरतर्फ पनि सडक स्तरोन्नतिको कार्य भइरहेको बताउनुभयो ।
यस्तै हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग कुलेखानी–फाखेल–फर्पिङ सडकको मकवानपुर र काठमाडौँतर्फको भागहरूमा पनि बागमती प्रदेश सरकारको लगानीमा सडक कालोपत्रेलगायत स्तरोन्नतिको कार्यहरू भइरहेको छ ।