बालिका अपहरण, शरीर बन्धक र बलात्कारको कसुरमा २० वर्ष कैद
![](https://www.janapatra.com/wp-content/uploads/2024/08/ucha-adlat.jpeg)
हेटौँडा — बालिकालाई अपहरण, शरीर बन्धक र जबरजस्ती करणी गरेको ठहर गर्दै उच्च अदालत पाटन हेटौँडा इजलाशले २० वर्ष कैद सजाय सुनाएको छ।मंगलबार बसेको न्यायाधीशद्धय यमुना भट्टराई र सानुमैया डंगोलको संयुक्त इजलासले १२ वर्षीय बालिकालाई अपहरण, शरीर बन्धक र जबरजस्ती करणी गरेको ठहर गर्दै रौतहटको चन्द्रपुरका २४ वर्षीय राधेश्याम भनिने रामचन्द्र मुखिया वीनलाई २० वर्ष कैद सजाय तोकेको हो ।
अदातलले वीनबाट ७ लाख २० हजार रुपैयाँ जरिवाना असुल उपर गर्न आदेश गरेको छ । उच्चले चितवन जिल्ला अदालतले गरेको फैसला उल्टाएको हो । यसअघि चितवन अदालतले अपहरण, शरीर बन्धकमा ४ वर्ष कैद गर्ने फैसला गरेको थियो भने ४० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
उच्च अदालतले वीनलाई जबरजस्ती करणीमा १८ वर्ष र अपहरण शरीर बन्धकमा २ वर्ष कैद गर्ने फैसला सुनाएको छ । २०७७ माघ २ गते १२ वर्षीया बालिका स्कुलबाट पढेर घरतर्फ फर्कने क्रममा वीनले अपहरण गरेर रौतहट लगी केही दिन कोठामा थुनेर राखेर बलात्कार गरेका थिए ।