संस्कार बिनाको शिक्षा बिंड बिनाको खुर्पा जस्तै हुन्छ– बागमती प्रदेश प्रमुख देवकोटा

जनपत्र
२७ माघ २०८१, आईतवार ०९:४०

हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संस्कार बिनाको शिक्षा बिंड बिनाको खुर्पा जस्तै हुने बताउनु भएको छ । शनिबार चितवनको भरतपुरमा रहेको नयाँकिरण कमलकुसुम माध्यमिक बिद्यालयको ५८ औं बार्षिकोत्सब तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

बिद्यार्थी लक्षित सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले भन्नुभयो ‘तपाइँहरू जिबनको उर्जाशील उमेरमा हुनुहुन्छ । मेहनतभन्दा अर्को बिकल्प छैन । सन्सार मेहनतीहरूको हो । तपाइहरूसङ्ग सपना हुनुपर्छ अनि त्यो सपनाले बिपनामा मेहनतको मार्गमा डोर्याउनुपर्छ । यति पढ्नुस् कि अभिभावकले अबत सुत भो नानीबाबू भन्नुपरोस् । तपाई जहाँ भएपनी सस्कारी बन्नुस ।’

‘हरेक आमाबाबुले आफ्नो भन्दा सुखद जीवन छोराछोरीको होस् भन्ने चाहन्छन् र त्यसका लागि आफ्ना रहरहरूको तिलान्जली दिएर आफ्ना सन्तानको लागि दिनरात नभनी मेहनत गर्छन्’ उहाँले भन्नुभयो । ‘अभिभाबकको सपना तुहाउने छुट तपाइँ बिद्यार्थीलाई छैन । मेहनत गर्दागर्दै कहिलेकाही असफल हुनु नौलो होइन’ उहाँले भन्नुभयो ‘ मेहनत नगरी सफलता खोज्नु धान रोपेर मकै फल्छ भन्ने सोच्नुजस्तै हो । तपाईं नानीबाबुहरू कर्मशील हुनुहुन्छ र लक्ष्य हासिल गर्न सक्नु हुनेछ ।’

यसैगरी प्रदेश प्रमुख देवकोटाले शिक्षक लक्षित सम्बोधनमा तपाइँहरू यस्तो पेशामा हुनुहुन्छ जुन सबै पेशाहरूको जननी हो भन्नुभयो । ‘खरिदार वा नायब सुब्बा वा अधिकृत भएको भए नागरिकता वा अन्य केही बनाउनुहुन्थ्यो होला । शिक्षक भएर नागरिक बनाउनुहुन्छ’ उहाँले भन्नुभयो । शिक्षण पेशा आफ्नो जिवनको पहिलो पेशा भएको बताउँनु हुँदै उहाँले शिक्षकहरुले पेशाप्रती गर्व गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो ‘शिक्षण पेशालाई म अत्यन्तै सम्मान गर्दछु। सम्पूर्ण समाज र रास्ट्रले यो पेशालाई उच्च मूल्यांकन गर्नुपर्दछ ।’

घर बालबालिकाको पहिलो पाठशाला भएको बताउँनु हुँदै प्रदेश प्रमुख देवकोटाले अहिलेका नानीबाबुहरू भिन्न समयमा जन्मेका छन् । हाम्रा थुप्रै अनुभबहरू उनीहरूलाई अर्थ नलाग्ने बताउनु भयो। ‘अहिलेको समय तीब्ररूपमा परिवर्तनकारी छ र जीवन, पेशा, रोजगारी लगायतका क्षेत्रमा आमूल परिवर्तन आएको छ’ उहाँले भन्नुभयो ‘अभिभावकले संस्कार र श्रमको मूल्य नानिबाबुलाई बुझाउनुपर्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*