कुकुरले टोकेको नभन्दा ज्यान गयो
कुकुरले टोकेको कुरा लुकाउँदा ललितपुरमा एक किशोरीको मृत्यु भएको छ। गोदावरी नगरपालिका–६ स्थित नेपाल असहाय बाल घरमा बस्दै आएकी १७ वर्षीया कनिषा अर्यालको साउन १९ गते मृत्यु भएको हो। सिन्धुपाल्चोक मेलम्चीकी उनी १२ कक्षामा पढ्थिन्।
कुकुरको टोकाइबाट घुँडाभन्दा पछाडि थोरै मात्र घाउ लागेको थियो। केही दिनमा उनको घाउ निको भयो। दुखाइ बिस्तारै कम्मरदेखि तलको भागमा फैलियो। अन्त्यमा सास फेर्न नसक्ने अवस्थासम्म पुग्यो। दुखाइ कम नभएपछि उनलाई १७ गते मेडिसिटी अस्पताल पुर्याइएको थियो। अस्पताल लैजाँदा रेबिजको लक्षण देखिन थालेको थियो। मेडिसिटीमा पुगेपछि डाक्टरले समस्या बुझ्दै जाँदा उनले कुकुरले टोकेको कुरा सुनाएकी थिइन्। त्यसपछि उनलाई टेकु लगिएको थियो। समस्या विकराल भइसकेकाले उनको उपचार हुन नसकेको बताए।