सांसद काठमाण्डौमुखी भए गाउँ जाँदा नागरिकले राँको लिएर लखेट्छन् : उपसभामुख राना

काठमाण्डाै – उपसभामुख इन्दिरा रानाले सांसदहरु काठमाण्डाैमुखी भएर बस्न नहुने बताउनु भएकाे छ । आज संसद् भवनमा आयोजित प्रतिनिधि सभाका सदस्यहरुको लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सांसद काठमाण्डौमुखी भए गाउँ जाँदा नागरिकले राँको बालेर लखेट्ने बताउनु भएकाे हाे ।
‘हामी काठमाण्डौ केन्द्रित मात्रै भएर बस्ने हो भने हामीलाई गाउँमा जाँदा नागरिकले राँको बालेर खेदाउँछन् । सांसदहरु काठमाण्डौ केन्द्रित हुनुहुँदैन । सांसदहरुले स्थलगत अवलोकन गरेर नागरिकका समस्यालाई उठाउनु पर्छ ‘ उहाँले भन्नुभयाे ।
यस्तै उहाँले अवलाेकनका क्रममा उपसभामुख पदलाई हेप्ने गरेको पाएकाे बताउनुभएको छ । उहाँले उपसभामुखलाई उप/चुप जस्ता वाक्यांशहरु प्रयोग गरेर हेप्ने गरेको बताउनु भयो । आफू उपसभामुख भइसकेपछि केही जिल्ला भ्रमण गर्दा यस्ताे पाइएकाे उहाँले बताउनु भएकाे हाे ।
उहाँले भन्नुभयो, ‘मैले केही गाउँकाे अवलाेक गरेँ । उपसभामुखलाई उप, चुप भन्ने गरेकाे पाएँ । मैले यसमा उप अब उपर अर्थात् माथि जाने हो भनेर आएकी छु ।’ उपसभामुख रानाले सांसदहरुले स्थलगत अवलोकन गरेर गाउँघरका समस्यालाई संसदमा उठाउनुपर्ने बताउनु भएकाे छ ।