हेटौंडाको हर्नामाडीस्थित गुम्बाडाँडामा शर्माको अर्ध कदको सालिक अनावरण
हेटौंडा/ बाम्पन्थी नेता, साहित्यकार तथा पत्रकार स्वर्गीय श्याम प्रसाद शर्माको अर्ध कदको सालिक आज अनावरण गरिएको छ । हेटौंडा १८ हर्नामाडीस्थित गुम्बाडाँडामा रहेको श्याम प्रसाद स्मृति पार्कमा रहेको उनको सालिक मुख्यमन्त्री राजेन्द्र पाण्डेले अनावरण गरेका हुन् ।
सालिक अनावरण गर्दै मुख्यमन्त्री पाण्डेले नेपाली माटो सुहाउँदो माक्सवादी बिचार प्रवाह गर्दै साहित्य, राजनीतिक र पत्रकारिताको क्षेत्रबाट शर्माले महत्वपूर्ण योगदान दिएको बताए । समाज परिवर्तनको लागि बिचार महत्वपूर्ण विषय भएकाले यस्ता अभियान्ताहरुको सधैँ सम्मान गर्नुपर्ने उनको भनाई छ ।
कार्यक्रममा प्रदेशसभा सदस्य मुनु सिग्देल, नेकपा एकिकृत समाजवादी मकवानपुरका अध्यक्ष सुर्यचन्द्र न्यौपाने लगायतले बोल्नुभएको कार्यक्रम प्रतिष्ठानका उपाध्यक्ष इन्द्र प्रसाद नेपालको सभाध्यक्षतामा भएको हो । १९८६ असार ६ गते मकवानपुरको तत्कालिन मन्थली गाविसमा जन्मनुभएका शर्माको एक दर्जन बढि साहित्यकि कृति प्रकाशित छन् ।