हिमाली क्षेत्रमा चौँरी चराउन खर्कको अभाव, चीनतर्फ चोरी निकासी बढ्दो

जनपत्र
४ भाद्र २०७९, शनिबार १६:१३

ताप्लेजुङ – फक्ताङलुङ गाउँपालिका ६ का छोवाङ शेर्पाले साढे दुई वर्ष अगाडि किनेका एक सय चाैँरी तथा याकहरु अहिले दुई सय पुगेका छन् ।

साढे दुई वर्ष अघि १ सय चाैँरी चीन तर्फ लगेर बेच्न प्रति चाैँरीकाे ६५ हजारका दरले ६५ लाखमा किन्नुभएको थियो । तर, चाैँरी किनेपछि कोरोनाका कारण चीनतर्फ लाने नाका बन्द भयो  । नाका बन्द भएपछि अहिले बढेर २ सय पुगेका छन् । घुन्साका डण्डु शेर्पाका पनि चाैँरी गाईहरु बढेर २५ देखि ५० पुगेको छ । चीनले ताप्लेजुङको ओलाङचुङगोलामा रहेको तिप्ताला नाका साढे दुई वर्षदेखि बन्द गर्दा चौँरीको संख्या बढेकाे हाे ।
कोरोनाका कारणले बन्द भएको नाका अहिलेसम्म नखुल्नाले हिमाली क्षेत्रमा  पालेका चौँरी बिक्री हुन नसकेका हुन् । बन्द हुनु भन्दा अगाडि घुन्सा, ओलाङचुङगोला, याङमा साथै याम्फुदिनमा एक हजार पाँच सय जति चाैँरी रहेकामा अहिले ओलाङचुङगोलामा मात्र एक हजार ५ सय चाैँरी रहेको फक्ताङलुङ गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष छेतेन शेर्पा बताउनुहुन्छ।

उहाँ भन्नुहुन्छ, ‘ साढे दुई वर्ष भयो चौँरी बिक्री भएको छैन । कोरोनाका कारणले चीनले नाका बन्द गरेपछि चौँरीका बाछा र चौँरी बिक्री नभएको हो ।’ ताप्लेजुङको हिमाली क्षेत्रका स्थानीयले चाैँरी गोठबाट जिविका चलाउँदै आएका छन् ।

समुन्द्र सतहबाट तीन हजार ५ सय मिटर उचाईदेखि पाँच हजारसम्मको उचाइमा चाैँरी व्यावसायिकरूपमा पालन गरिँदै आएको छ । कञ्चनजंघा संरक्षण क्षेत्रभित्र तथा विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको फेदीमा चाैँरी गोठहरू पुर्‍याउने गरिन्छ ।  हिमाली समुदायको प्रमुख पेशाको रुपमा रहेको छ चाैँरी पालन व्यवसाय । यसरी पालिएका चाैँरी परापूर्व कालदेखि नै चीनको सोसाशित क्षेत्र तिब्बततिर बिक्री हुँदै आएका छन् ।

ओलाङचुङगोला क्षेत्रमा एक हजार पाँच सय, घुन्सा क्षेत्रमा ५ साय याम्फुदिनमा ७ सय वटा चाैँरी गरि २ हजार सात सय रहेका छन् । कञ्चजंघा संरक्षण क्षेत्रले नेपाल सरकारको ८० प्रतिशत र कञ्चनजंघा संरक्षण क्षेत्र र पशुपालक कृषकको २० प्रतिशत लगानी तथा संरक्षण क्षेत्रको प्राविधिक सहयोगमा अहिले पशुपालक कृषकको मागलाई हेरेर ८ सय याक तथा चाैँरीको बीमा गर्न लागिएको समेत कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका कार्यक्रम संयोजक जितेन चेम्जोङले बताउनुभयाे ।

चीनका विभिन्न क्षेत्रमा नेपाली चाैँरीका बाछा र चाैँरीबाट उत्पादित छुर्पी घ्यूका साथै पशुजन्य वस्तुहरू चीनका बजारमा राम्रो मूल्यमा बिक्री हुने गरेको याङमाका छोवाङ शेर्पा बताउनुहुन्छ । चीनका बजारमा प्रति चाैँरी ६० हजारदेखि एक लाख ५० हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ । छुर्पी र घ्यू प्रतिकिलो एक हजार २ सय रुपैयाँमा बिक्री हुने गरेको बताइन्छ । ताप्लेजुङमा ९ पालिकामध्ये फुङ्लिङ नगरपालिका र पाथीभरा याङवरक गाउँपालिका बाहेक सात गाउँपालिकामा चाैँरी व्यावसायिक रुपमा पालन हुँदै आएको छ । चाैँरीको प्रमुख बजार चीनका विभिन्न क्षेत्रहरूमा निर्यात हुने गर्दछ । राम्रो मूल्यमा चीनमा निर्यात हुने भएकाले हिमाली समुदाय चाैँरी पालनतर्फ आकर्षित हुने गरेको बताइन्छ ।

चीनको नाका बन्द भएकाले चाैँरीलाई नुनको समस्या

चीनको नाका बन्द भएपछि चाैँरीलाई दिने नुनको समस्या भएको छ । चीन तर्फबाट ल्याएको नुन खाँदै आएका चाैँरीलाई अहिले नेपालतर्फकाे नुन खुवाउँदा बिरामी परेका छन् । यहाँकाे नुन खाँदा चाैँरीहरु छेर्ने, झोक्राउने तथा घाँस नखाने गरेको पशुपालक किसानहरु बताउँछन् । फक्ताङलुङ गाउँपालिक वडा नं. ७ का अध्यक्ष छेतेन शेर्पा पनि चाैँरी पालक किसानले यस्ताे समस्या भाेग्ने गरेकाे बताउनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*