चीनबाट रासायनिक मल आउन सुरु
काठमाण्डाै – कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट मगाएको रासायनिक मल नेपाल आउन सुरु गरेको छ ।
तातोपानी नाका हुँदै आज बुधवारसम्म तीन सय ४० मेट्रिक टन युरिया मल भन्सार प्रक्रिया पूरा गरी काठमाण्डाै भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिनुभयो ।
हिउँदे बालीका लागि कम्पनीले सिल्क ट्रान्सपोर्ट प्रालिमार्फत ३५ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डीएपीसहित ४० हजार मेट्रिक टन रासायनिक मल मगाएको थियो । तर चिनियाँ पक्षले समन्वयकारी भूमिका निर्वाह नगरेको हुँदा लामो समयसम्म त्याे मल खासा क्षेत्रमै राेकिएर रहेको सिल्क ट्रान्सपोर्ट प्रालिले आरोप लगाएको छ ।
किसानहरूले धानबाली भित्र्याइ सकेपछि आलु तथा गहुँ बाली सुरु गर्ने गर्दछन् । त्यसका लागि मलको अभाव हुन नदिने उद्देश्य राखी कृषि सामग्री कम्पनीले चीनबाट मल झिकाउन समयमै ठेक्का प्रक्रिया पुर्याएकाे थियोे । यद्यपि चिनियाँ पक्षले समयमै नेपाल पठाउन चासो नदिएपछि मल आउन ढिलाइ भएको हो ।
नेपाल सरकारले यसअघि पनि साल्ट ट्रेडिङ कम्पनीमार्फत चीनबाट चार हजार मेट्रिक टन युरिया मल मगाएको थियो ।