माघे सक्रान्तीका अवसरमा हेटौंडा बजारमा तरुलको बढ्दो कारोबारः थरीथरी जात, थरीथरी मूल्य

जनपत्र
१ माघ २०८१, मंगलवार ०८:४६

हेटौंडा । माघे संक्रान्तिका अवसरमा हेटौंडा बजारमा तरुलको कारोबार निकै बढेको छ । हेटौंडाको खोपेगल्ली, लगायतका तरकारी जबारमा पाइने तरुल पनि थरीथरीका छन् । पाँचऔंले, सिंगाने पिंडालु, दुधे पिंडालु, रातो र सेतो घर तरुल, लालबन्दीको तरुल अर्थात् देशी तरुल, वन तरुल, सिमल तरुल, पानी तरुल, हात्तीपाइले, पताले तरुल, आकाशे तरुल, नेपाली तरुल, रातो तरुल ।

हेटौंडामा मकवानपुरको गाउँगाउँबाट र तराइका जिल्लाहरुबाट समेत तरुल र पिडालु भित्रिन्छ । हेटौंडाको मुख्य तरकारी बजार खोपेगल्ली र हेटौंडा १ चौकिटोलमा रहेको तरकारी मण्डीमा तरुलको जातअनुसारको फरक–फरक मूल्य छ ।

सबैभन्दा महँगो वन तरुल किलोको तीन सय २५० रुपैयाँमा उपभोक्ताहरुले खरिद गरेको हेटौंडा–४ का स्याम सापकोटा बताउँछन् । त्यसैगरी सिमल तरुललाई औषधिको रूपमा लिइन्छ र मधुमेहका बिरामीको लागि उपयुक्त हुन्छ । यो तरुल जमिनमाथि नै फल्छ । सिमल तरुल भारतबाट बढी आयात हुने गरेको व्यापारीहरु बताउँछन् ।

वन तरुल विशेष गरी जङ्गगलमा पाइने भएकाले यसलाई वन तरुल भनिन्छ । हेटौंडामा किलोको एकसयदेखि २५० रुपैयाँसम्म वन तरुलको कारोबार भइरहेको छ । यस्तै घर तरुल किलोको ८० देखि १२० रुपैयाँ पर्छ । पानी तरुल र हात्तीपाईले तरुल धादिङमा बढी उत्पादन हुन्छ । यी तरुल ६० देखि ७० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

यस्तै आकाशे तरुल, पताले तरुल, दुधे तरुल, घर तरुल सर्लाहीमा बढी उत्पादन हुन्छ । यी तरुल पनि ६० देखि ७० रुपैयाँसम्ममा कारोबार भइरहेको छ । तरुललाई तरकारीको रूपमा र उसिनेर खाने गरिन्छ । पहिले–पहिले माघे सङ्क्रान्तिलाई लक्षित गरेर मात्र तरुलको उत्पादन हुने गथ्र्यो । तर अहिले वर्षभरि नै तरुलको उपभोग हुने भएकाले खपत बढ्ने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*